श्री महेन्द्र बहादुर शाही

 

मुख्यमन्त्री महेन्द्रबहादुर शाहीको संक्षिप्त राजनीतिक जीवनी 

जव कसैले पनि कर्णालीको चित्रमय वर्णन गर्छ, तव अभाव, गरिवी र विकटताको चित्रण गर्दछ । त्यो कर्णालीलाई नेपाली समाज रुपान्तरणको इतिहा“समा गणतन्त्रका लागि साहस, गौरव र बलिदानको अद्वितिय प्रतिक, लालकिल्लाको परिचय जुराउने कार्य जनयुद्धले गर्‍यो र त्यही जनयुद्धको आँधिमय दिनहरुमा मिलिसयादेखि जनमुक्ति सेनाको डिभिजन कमाण्डरसम्मको भूमिका निर्वाह गर्ने एक कमाण्डर हुनुहुन्छ महेन्द्रबहादुर शाही उर्फ "क.प्रज्ज्वल" । संघर्षका वेगवान आँधिवेहरीमा आफूलाई एउटा सतिसालको रुपमा प्रमाणित गर्दै शाहीले संविधानसभा सदस्य, उर्जामन्त्री, महाअभियोगको प्रस्तावक हुँदै मुख्यमन्त्रीको यात्रा तय गर्नुभएको हो । नेपालमा टुहुरो हुनु भनेको भविष्यका सुन्दर बाटाहरु बन्द हुनु जस्तै हो । उज्यालो विहानीमा ग्रहण लाग्नु हो । उहाँले पनि दुई वर्षको कलिलो नावालक उमेरमै पिता गुमाउनु पर्‍यो  । एउटा परिवारको मूलधुरी भाँचिए पनि आमाले हजार कष्टलाई छोराको उन्नती र प्रगतिसँग जोडेर घर सम्हाल्नु भयो । त्यो टुहुरो नावालक एउटा नयाँ इतिहासको रचनाकार बन्नुभएको छ । त्यही विकटता र दुर्गमले विभुषित कर्णालीको समृद्धिको सपना देखिरहनुभएको छ । 

मुख्यमन्त्री महेन्द्रबहादुर शाहीको जन्म कर्णाली प्रदेशको कालिकोट जिल्ला पचालझरना गाउँपालिका (साविकको नानीकोट गाबिस वडा नम्बर ८) मा २०३३ साल माघ १५ गते बुवा लालबहादुर शाही र आमा रणकौडा शाहीको दोस्रो सन्तानका रुपमा भएको हो । पञ्च भएपनि अन्याय अत्याचारको विरुद्धमै लड्ने र अन्याय र अत्याचारमा परेकाहरुलाई सेवा गर्ने बुवाको स्वभावले शाहीको जीवनमा पनि प्रभाव पार्‍यो  ।  जीवनकालभरी जनताको पक्षमा बोलेका कारण बुवाको मृत्यु पछि मुख्यमन्त्री शाही र उहाँकी आमाले पनि धेरै दुःख पाउनुपर्‍यो । गाउ“का केही ठूलाहरुले अन्य गरीब, निमुखालाई गर्ने व्यववहार र अन्यायले गर्दा उहाँमा सानै देखि विद्रोही भावना उत्पन्न भयो । 
मुख्यमन्त्री शाही अध्ययनरत विद्यालयका शिक्षकहरुको सल्लाहअनुसार मुख्यमन्त्री शाहीले २०४८ सालमा नेपाल कम्युनिस्ट पार्टी (एकताकेन्द्र)को सदस्यता लिनुभयो । पार्टी सदस्यता लिएपछि अर्धभूमिगत रुपमा गोप्य सैन्य तालिममा सहभागी हुँदै युद्धको तयारीमा जुट्न थाल्नुभयो । त्यसपछि २०५२ सालबाटै तत्कालीन माओवादीले जनयुद्ध संचालन गर्‍यो । त्यसपछि उहाँ जनयुद्धमा होमिनुभयो । उहाँले जनयुद्धमा पार्टी संगठन र छापामार पार्टीमा समानान्तर भूमिका निर्वाह गर्नुभयो ।

कर्णाली अञ्चलमा पहिलो पटक छापामारको स्थापना भएदेखिनै पार्टी र सेनामा समानान्तर भूमिका गर्नुभएका शाहीले कालिकोट जिल्लाको सैन्य इन्चार्ज भएर जिल्लामा जनमुक्ति सेनाको नेतृत्व गर्नुभयो । 
आफूले पाएको भूमिकालाई पार्टीमा अवसरको रुपमा लिने शाहीले त्यसपछिका विभिन्न मोर्चा हुँदै पार्टीको मध्य तथा सुदूरपश्चिममा हुने जुनसुकै कारवाहीको पनि नेतृत्व गर्नुभयो । पश्चिम नेपालमा बुटवलदेखि दार्चुलासम्म भएका सैन्य कारवाहीमा उहाँको नेतृत्वदायी भूमिका रहेको थियो ।  

सुरुमा वार्ड कमाण्डर, स्क्वाइड कमाण्डर, प्लाटुन कमाण्डर, कम्पनी कमाण्डर, बटालियन कमाण्डर, बिग्रेड कमाण्डर हुँदै डिभिजन कमाण्डरसम्मको नेतृत्व गर्न सफल शाहीले सेना समायोजनको बेलामा राजनीतिक मोर्चालाई रोज्नुभयो । सेना समायोजन पछि मूलधारको राजनीतिमा आउनुभएका शाहीले आफ्नो निर्वाचन क्षेत्र रहेको कालिकोट जिल्लाको संगठनलाई मजबुत बनाउनतिर ध्यान दिनुभयो । जिल्लामा संगठन मजबुत बनाएकै कारण संविधानसभाको दोस्रो निर्वाचनमा पनि उहाँ विजयी हुनुभयो ।

जनयुद्धकालीन अवस्थामा सर्वाेच्च कमाण्डर पुष्पकमल दाहाल प्रचण्डलाई एम्बुुस थापेको देखि जिल्ला सदरमुकाम कब्जाबारेका सम्पूर्ण जानकारी दिइन्थ्यो । तर संसदीय राजनीतिमा महाअभियोग प्रस्ताव दर्ता गर्दा सुप्रिमोलाई जानकारी नदिई दर्ता भयो । मुख्यमन्त्री शाहीले ठुलो जोखिम लिएर यसको नेतृत्व गर्नुभयो ।  यूद्धस्तरमा सुप्रिमोलाई जानकारी नदिई घटेको यो पहिलो घटना हो माओबादी कमाण्डरहरुकोे लागि । यो लडाइँको कमाण्डर पनि शाही नै हुनुभयो, जुन नेपालको संसदीय इतिहासमा दुर्लभ र ऐतिहासिक परिघटना हो । यसलाई पछि पार्टीले पनि साथ दियो र जनताको समर्थन रह्यो । 
पूर्वलडाकु कमाण्डरहरुको पहलकदमिमा आफ्नै पार्टीका अध्यक्ष एवं प्रधानमन्त्री प्रचण्डलाईसमेत पूर्व जानकारी नदिई संसदमा महाअभियोगको प्रस्ताव दर्ता गरिएको थियो ।  लोकमानविरुद्ध महाअभियोगको प्रस्ताव दर्ता गर्ने काम विगत जनयुद्धकालका ठूलठूला सैन्य हमला भन्दा कम थिएन । 
मुख्यमन्त्री शाही दोस्रो संविधानसभामा संसदको गरीमा रक्षा र संविधानसभाबाट संविधान निर्माणमा ऐतिहासिक भूमिका निर्वाह गर्दै नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको प्रधानमन्त्रीत्वमा जम्मा ८३ दिन उर्जामन्त्री हुनुभयो । त्यो उर्जामन्त्रीको ८३ दिने यात्रालाई शाहीले उज्यालो नेपाल अभियानको निरन्तरता, कर्णालीलाई विद्युतको केन्द्रीय प्रसारण लाइनसँग जोड्ने देखि ग्राहकहरुलाई विद्युत भुक्तानीमा ईसेवाको प्रारम्भजस्ता महत्वपूर्ण काम गर्नुभयो । जनमुक्ति सेनाको कमाण्डर, संविधानसभाको सदस्यको भूमिका, भ्रष्टाचार विरुद्धको लडाइँ, उर्जामन्त्रीको दायित्व सवैलाई मूल्याकंन गर्दै कालिकोट (ख) बाट अत्यधिक र लोकप्रिय मतका साथ प्रदेशसभा सदस्यमा निर्वाचित हुनुभयो । माघ २५ गते सम्पन्न नेकपा (माओवादी केन्द्र)को संसदीय दलको बैठकले दल नेतामा सर्वसम्मतले निर्वाचित हुनुभएका शाही बामगठबन्धनको समर्थनमा २०७४ फागुन ३ गते कर्णाली प्रदेशको मुख्यमन्त्री हुनुभएको छ ।  

उहाँको संक्षिप्त जीवनी 

आमाको नाम: रणकौडा शाही
बुवाको नाम: लालबहादुर शाही 
ठेगाना: पचालझरना गाउँपालिका (साविकको नानीकोट गाविस वडा नम्बर ८)
शिक्षा: एस.एल.सी. 
दाजु–भाई: दाजु १ 
दिदी–बहिनीः दिदी